
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लैजान कोरियासँग आग्रह गरेका छन् । इपिएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा सोमबार कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँगको भेटका क्रममा कोरियन भाषा परीक्षा पास गरेर बसेका नेपाली श्रमिकलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका हुन् । अहिले पनि भाषा पास गरेका नेपाली श्रमिकको संख्या धेरै रहेको भन्दै उनीहरूलाई लैजानका लागि मन्त्री श्रेष्ठले आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ ।
उनले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरेको जनाइएको छ । अहिले चार्टर्ड उडानमार्फत् कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने यात्रुले कम शुल्कमा जान पाउने बताइएको छ । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिरहेको भन्दै कोरोना महामारीका कारण रोकिएका श्रमिक छिटो ल्याउन कोरिया सरकार सकारात्मक रहेको बताए ।