
काठमाडौं– वैदेशिक रोजगार विभागले रसिया–युक्रेन युद्धको कारण युक्रेनमा समस्यामा परेका व्यक्तिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वा नलिएर युक्रेनमा रहेका नेपालीहरूलाई विभिन्न माध्यमबाट सम्पर्कमा आउनका लागि आग्रह गरेको हो ।
दुई देशबीचको द्वन्द्वको मारमा परेका नेपालीहरूलाई कल सेन्टरमा फोन गर्न, सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा इमेलमा जानकारी दिन विभागले जारी गरेको सूचनामा आग्रह गरिएको छ । कल सेन्टर, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रभावित क्षेत्रमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ वा नलिइ जानुभइ कामदारको रूपमा कार्यरत रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हाल कुनै अप्ठ्यारोमा पर्नुभएको वा उद्धार गर्नुपर्ने अवस्थामा रहनुभएको भए सम्पर्क गर्न आग्रह गरिन्छ ।’
विभागले तोकेको ठेगानामा आफ्नो सन्देश पठाउन वा कुनै पनि माध्यमबाट विदेशमा रहेका नेपाली नियोग तथा आफन्तहरूलाई जानकारी दिनसमेत विभागले अनुरोध गरेको छ ।