
काठमाडौं– युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि विदेशमा रहेका नेपाल पत्रकार महासंघका शाखाहरूले आग्रह गरेका छन् । विभिन्न देशका सातवटा शाखाले संयुक्त वक्तव्य जारी गरी युएईमा कार्यरत पत्रकार पाण्डेलाई रिहा गर्न माग गरेका हुन् ।
संयुक्त वक्तव्य जारी गर्नेमा बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरू रहेका छन् । ‘नेपालीहरूको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ,’ वक्तव्यमा भनिएको छ ।
जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सीधा प्रहार भएको वक्तव्यमा उल्लेख गरिएको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्दा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको जनाइएको छ ।
वक्तव्यमा हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि लगाइएको साइबर अपराधको मुद्दा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित देशको नेपाली दूतावाससमक्ष मागसमेत गरिएको छ । त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्री र श्रमजीवी पत्रकारहरूका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संगठनहरूलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्दा फिर्ताको लागि सम्बन्धित निकायहरूसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पु¥याउन अपिल गरिएको छ ।
वक्तव्यमा महासंघका बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्याल, युरोप शाखा कार्यवाहक अध्यक्ष केजिन राई, जापान शाखा अध्यक्ष मोहन घले, दक्षिण कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवर, कुवेत शाखा अध्यक्ष नवराज पन्थी, कतार शाखा अध्यक्ष करिम बक्स मियाँ, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा र भारत शाखाका महासचिव अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।