
काठमाडौं– रूस–युक्रेन द्वन्द्वबाट प्रभावित ५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित स्थानमा पुगेका छन् । द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार गर्न गठित समितिले दिएको जानकारीअनुसार युक्रेनमा रहेका अधिकांश नेपालीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेका छन् । समितिका अनुसार हालसम्म ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र चारजना माल्दावा पुगेका छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) समेत लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।
उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक र व्यावहारिक कारणले युक्रेन छोड्न नसकेको बताएका छन् । त्यहाँ अप्ठ्यारोमा परेका नेपालीलाई आर्थिक सहयोगसमेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनका लागि अनुमति दिइएको बताइएको छ ।