
काठमाडौं– कतारमा रहेका विभिन्न देशका १४ हजार भन्दा धेरै गैर कानुनी आप्रवासी श्रमिकहरूले कानुनी अवस्था सच्याएका छन् । कतार सरकारले गैर कानुनी रूपमा कतारमा बसिरहेका आप्रवासीहरूलाई कानुनी अवस्था सच्याउनका लागि तोकेको समय अवधिमा नेपाल सहित विभिन्न देशका १४ हजार भन्दा बढी व्यक्तिले कानुनी अवस्था सच्याएका हुन् ।
कतारको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै उनीहरूले कानुनी हैसिएत पाएका छन् । कतारमा गैरकानुनी रूपमा बसोबास गर्दै आएकामध्ये २८ हजार ४७६ जनाले आवेदन दिएको र त्यसमध्ये १४ हजार २२७ जनाले कानुनी अवस्था सच्याएको बताइएको छ । २८ हजार ४७६ जनामध्ये ८ हजार २२७ जना कुनै पनि सजाय र जरिवाना नतिरेरै कतार छाडेको र ६ हजार जनाले तोकिएको आधा जरिवाना तिरेर कानुनी अवस्था सच्याएको बताइएको छ ।
बाँकीको भने आवश्यक प्रक्रिया भयरहेको जनाइएको छ । कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानुनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकलाई आङ्खनो कानुनी हैसियत सच्चाउन अवसर दिएको थियो । तर अहिले यो समय कतारले थप पगेर मार्च महिनासम्म पुर्याएको छ । अब गैर कानुनी रूपमा बसोबास गरिरहेका विदेशीहरूले ३१ मार्चसम्म यो सुविधा प्रयोग गर्न सक्ने जनाइएको छ ।
कतारले विभिन्न कारणले ९० दिनभन्दा बढी बिना भिसा र आइडी कतारमा बसेकालाई अवैधानिक र अनौपचारिक मानेको छ । तर कतार सरकारले दिएको यो अवसरको विदेशी श्रमिकले फाइदा लिइरहेको बताइएको छ । यो अवसरको सदुपयोग गर्नका लागि कतारमा रहेका नेपालीहरूलाई त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गर्दै आएको छ ।