
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत् उद्धारका लागि छलफल भइरहेको बताएका छन् । युक्रेनमा रहेका नेपालीलाई केही समय धैर्य गर्न आग्रह गर्दै अध्यक्ष पन्तले पोल्याण्ड प्रवेश गराउन कूटनीतिक सहजीकरण गर्न जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् जानकारी दिएका छन् ।
युक्रेन र पोल्याण्डको सिमानामा रहेका ५० प्रतिशत नेपालीहरू गएराति नै बस र रेलमार्फत् पोल्याण्डको वार्सालगायतका सहरमा पुगेको पनि उनले बताएका छन् । तर कतिपय नेपालीहरू युक्रेनमा नै रहेको र चर्किएको युद्धका कारण सीमानाकामा आउन समस्या भएको बताइएको छ । उनीहरूलाई पोल्याण्ड प्रवेश गराउन आवश्यक समन्वय भइरहेको अध्यक्ष पन्तले उल्लेख गरेका छन् ।
युक्रेन छाडेर सीमावर्ती देशमा प्रवेश गर्ने नेपालीको अवस्था बुझ्न अहिले अध्यक्ष पन्त पोल्याण्ड र युक्रेनको सिमानामा पुगेका छन् । युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पोल्याण्डको सीमानाकामा रहेका नेपाली, विभिन्न संघसंस्था र नेपालीहरू खटिएका छन् । युक्रेनी सीमा पार गरेर पोल्याण्ड प्रवेश गरेकाहरूलाई अन्य सहरमा लगेर राख्न पनि एनआरएनएले सहजीकरण गरिरहेको पन्तले जानकारी दिएका छन् ।