
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको ८२औं बैठक आगामी बुधबार अर्थात् २ मार्चमा ‘भर्चुअल’ माध्यमबाट बस्नेछ ।
उक्त बैठकमा संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानडा र अस्ट्रेलियाका राष्ट्रिय समितिहरू, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस–युक्रेनबीचको युद्ध पीडित नेपालीहरूको उद्धार र संघको १०औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।
संघको चुनाव लामो समयदेखि हुन सकेको छैन । सदस्यता विवादका कारण संघको १०औँ साधारणसभा रोकिएको हो । संघको नयाँ नेतृत्व चयनका लागि मार्च २१ र २२ मा निर्वाचन तय गरिएको छ ।