
काठमाडौं– रुस र युक्रेनको द्वन्द्वबाट प्रभावित क्षेत्रबाट २४४ जना नेपाली नागरिक सुरक्षित गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले उनीहरू सुरक्षित रूपमा गन्तव्यमा पुगेको जानकारी दिएको हो ।
एनआरएनएले सोमबार विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीमध्ये ६० जना पोल्याण्ड, स्लोभाकिया र रोमानियामा १२–१२, हंगेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपाली दोस्रो मुलुक जना रोकिएको पनि संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनीहरूलाई सोमबार साँझसम्म सीमा पार गरिसक्ने एनआरएको अनुमान छ । एनआरएनए युक्रेनले जनाएअनुसार युक्रेनभित्र ४० नेपाली परिवार स्थायीरूपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष एवं जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालीहरूको उद्धारमा टोली लागिरहेको जनाइएको छ ।
बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जनाकारी दिएका थिए । नेपालीको उद्धारका लागि एनआरएनएका अध्यक्ष कुमार पन्त पोल्याण्डको सीमामा पुगेको जानकारी दिइएको छ । उच्चस्तरीय समितिका संयोजकमा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी रहेका छन् ।