
काठमाडौं– बहराइनमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी दिने कार्य सुरू भएको छ । दूतावासले आइतबारदेखि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरू गरेको बहराइनको मनामास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले एमआरपी राहदानीको अवधि सकिएर नवीकरणको प्रतीक्षामा रहेकी शर्मिला लिम्बूको लाइभ इनरोलमेन्टसँगै विद्युतीय राहदानी सेवाको सुरूआत भएको जनाएको छ । बहराइनस्थित दूतावासबाट पहिलो लाइभ इनरोलमेन्ट जारी गर्दा नेपालबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले ‘भर्चुअल’ माध्यममार्फत् सम्बोधन गरेका थिए । उनले विद्युतीय राहदानी जारी गर्ने सुरू गरेकोप्रति बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङ र दूतावासका कर्मचारीहरूलाई बधाइ दिएका थिए ।
दूतावासबाट अबदेखि विद्युतीय राहदानीमात्रै जारी हुने जानकारी दिएको छ । नेपाल सरकारले पछिल्लो समय एमआरपी राहदानी हटाउँदै विद्युतीय राहदानी वितरण गर्न थालेको छ । यसअघि मलेसिया, कतार, यूएई, साउदी र कुवेतस्थित नेपाली दूतावासहरूले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरू गरिसकेका छन् । प्रि–इनरोलमेन्ट गरेर तोकिएको समयमा दूतावासमा उपस्थित भएका सेवाग्राहीको मात्र दूतावासले बायोमेट्रिक विवरणसहितको प्रक्रिया अघि बढाउने जनाइएको छ ।