
काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा श्रमिक पठाउने कम्पनीमध्ये माघ महिनामा एसओएस म्यानपावर सर्भिस प्रालि अग्रस्थानमा रहेको छ । माघमा चार सय १४ जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएर एसएओसले अग्रस्थान ओगटेको हो ।
उक्त महिना ६ सय ५४ वटा म्यानपावर कम्पनीमार्फत् ३० हजार दुई सय ९७ जना वैदेशिक रोजगारीका विदेशिएको विभागको तथ्यांक छ । एसओएसपछि माघ महिनामा धेरै श्रमिक पठाउनेमा अक्सफोर्ड इन्टरनेसनल प्रालि रहेको छ । अक्सफोर्डले माघभरिमा चार सय ११ जनालाई रोजगारीका लागि विदेश पठाएको छ । त्यस्तै तीन सय ६९ जनालाई विदेश पठाएको प्याराडाइज इन्टरनेसनल प्रालि तेस्रो स्थानमा रहेको छ ।
फजल इन्टरनेसनल प्रालिले पनि तीन सय ६१ जना नेपाली श्रमिकलाई विदेश पठाएको छ । त्यस्तै साउण्डलाइन्स रिक्रुटमेण्ट प्रालिले तीन सय ५३ जना, ओशो भर्ती एजेन्सी प्रालिले तीन सय २२, सेन्ट्रल क्यापिटल सर्भिसेज प्रालिले तीन सय नौ जना श्रमिक विदेश पठाएका छन् । यी कम्पनीबाहेक अन्य ७४ वटा कम्पनीले पनि माघ महिनामा १०० भन्दा बढी श्रमिकलाई रोजगारीका लागि पठाएको विभागको तथ्यांकमा उल्लेख छ । एकम महिनाको अवधिमा एक/एक जनामात्रै श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीको संख्या २१ वटा रहेको छ ।
विभागको तथ्यांकअनुसार माघ महिनामा म्यानपावर कम्पनी र व्यक्तिगत रूपमा गरेर ५४ हजार चार सय ७० जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । उक्त अवधिमा म्यानपावर कम्पनीमार्फत् विदेश जाने ३० हजार दुई सय ९७ जनामध्ये २७ हजार आठ सय ८८ पुरुष र दुई हजार दुई सय १४ जना महिला रहेका छन् । कोरोना महामारीपछि चलयमान देखिएको वैदेशिक रोजगार क्षेत्रमा पछिल्लो दुई महिनामा भने केही कमी आएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म रोजगारीका लागि विदे श जानेको संख्या बढेकोमा पुस र माघमा त्यो संख्यामा कमी आएको देखिएको छ ।