
काठमाडौं– नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुक कतारमा स्वास्थ्य मापदण्ड परिमार्जन गरिएको छ । कोरोना संक्रमण उच्च बनेको समय लागू गरिएको स्वास्थ्य मापदण्ड १६ फागुन अर्थात् २८ फेब्रुअरीबाट कार्यान्वयनमा आउने गरी परिमार्जन गरिएको हो ।
कतार यात्रामा जाने यात्रुहरूका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड परिमार्जन गरिएको कतारका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । परिमार्जित मापदण्डअनुसार खोपको मात्रा पूरा लगाएका कतारी नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पिसीआर परीक्षण गर्नुपर्ने र त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कतार सरकारको नयाँ नियम रातो (रेड जोन) र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि रहेको समाचारमा जनाइएको छ ।
कतारले जारी गरेको जोखिमको सूचीमा अहिले पनि नेपाल रातोमा नै रहेको छ । रातो सूचीमा नेपालसहित बंगलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंका रहेको जनाइएको छ । रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले खोपको पूरा मात्रा लगाएको खण्डमा वा कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर खोपको पूरा मात्रा नलगाएको र प्रतीरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन ‘होम आइसोलेसन’मा बस्नुपर्ने नियम राखिएको समाचारमा उल्लेख छ । उनीहरूले प्रस्थानपूर्व अनिवार्य गर्नुपर्ने पिसीआर परीक्षणको व्यवस्था भने कायमै राखिएको छ ।
कोरोनाविरुद्धको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र र्यापिड एन्टिजेन परीक्षण गर्नुपर्ने नियम लागू गरिएको छ । खोप नलगाएकाहरूले भने कतार पुगेको पहिलो दिनमा पिसीआर परीक्षण र पाँचौं दिनमा र्यापिड एन्टिजेन परीक्षण गर्नुपर्ने जनाइएको छ ।
कतारमा पर्यटकको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । तर, खोप नलगाएका पर्यटकलाई भने कतारले प्रवेश अनुमति नै नदिने समाचारमा जनाइएको छ । यद्यपि, खाडी राष्ट्रका नागरिकले भने पाँच दिन क्वारेन्टिनमा बस्ने सर्तमा कतार प्रवेशको अनुमति पाउने छन् । पर्यटकको रूपमा जाने सबै यात्रुले प्रस्थानपूर्व पिसीआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने बताइएको छ ।