
काठमाडौं– जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ । उनीहरू दूतावासको सम्पर्कमा रहेकोसमेत जनाएको छ । बर्लिनमा रहेको नेपाली दूतावासले सूचना जारी गरेर युक्रेनमा रहेका १९३ जना नेपाली सुरक्षित रहेको जानकारी दिएको हो ।
दूतावासका अनुसार अहिले युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । रुसले युक्रेनको पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले सुरक्षित स्थानमा जानका लागि पनि त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेको पनि दूतावासले जारी गरेको सूचनामा जनाइएको छ ।
युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्याण्ड र हंगेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनका लागि ती देशतर्फ जान सकिने दूतावासको भनाइ छ । सीमानाकामा प्रवेश गर्नका लागि राहदानी वा यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ । दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्णपालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।
युक्रेनमा रहेका नेपालीको उद्धार गर्नका लागि भने सरकारले अझै अलमल गरिरहेको छ । भारतले युक्रेनबाट आङ्खना नागरिक उद्धारको तयारी गरी उनीहरूलाई जम्मा गरिरहेको छ । तर नेपालले अहिलेसम्म ठोस निर्णय र कदम चालेको छैन । परराष्ट्र मन्त्रालयले सम्भावित उपायको खोजी भइरहेको जनाएको छ । रुस र जर्मनीमा रहेका दूतावाससँग निरन्तर समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ । साथै, त्यहाँ रहेका नेपालीहरूलाई पनि रुस र जर्मनीस्थित नेपाली दूतावासमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।