
काठमाडौं– भिजिट भिसामा युएई गएर काम गरेको पाइए त्यहाँको सरकारले ‘डिपोर्ट’ (देश निकाला) सम्मको कारबाही गर्ने भएको छ । युएई सरकारले भिजिट भिसामा पुगेर आवश्यक प्रक्रिया पूरा नगरी काममा लागेकाहरूलाई डिपोर्ट गर्ने बताएको हो । भिजिट भिसामा गएर त्यहाँ काम थाल्नुअघि काम गर्ने अनुमति (वर्क पर्मिट) अनिवार्य लिनुपर्ने अन्यथा डिपोर्ट हुने युएईको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
युएईमा काम गर्ने अनुमतिविनै काम गर्नु भनेको त्यहाँको श्रम कानुनविपरीत हो । त्यस्तो गरेको पाइएमा कारबाही हुने समाचारमा जनाइएको छ । वर्क पर्मिट नलिइ काम गरेमा तीन महिना जेल सजाय र १० हजार युएई दिरहमसम्म जरिवाना हुनसक्ने समाचारमा उल्लेख छ । यसका साथै त्यहाँको अदालतले देश निकालाको फैसला गर्नसक्ने बताइएको छ । तर, आवश्यक कागजी प्रक्रिया पूरा गरेको खण्डमा काम गर्ने अनुमति पाइने समाचारमा उल्लेख गरिएको छ ।
युएईको निजी क्षेत्रमा काम गर्नेहरूले त्यहाँको मानव संसाधन मन्त्रालयबाट वर्क पर्मिट अनिवार्य रूपमा लिनुपर्छ । पछिल्लो समय नेपालबाट युएई भिजिट भिसामा जाने र त्यहाँ गएपछि अलपत्र पर्ने क्रम बढिरहेको छ । भिजिट भिसामा गएर अलपत्र परेको समाचार आउन थालेपछि नेपाल सरकारले भिजिट भिसामा जान कडाइ गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाका कारण समस्यामा परेकाहरूको समस्या सुन्ने र कारबाही गर्ने गरी मार्सल टोलीसमेत गठन गरिसकेको छ ।