
काठमाडौं– नेपालबाट माघ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसारमाघमा २८ हजार ३२१ जना अदक्ष श्रमिक विदेशिएका छन्, जुनउक्त महिना रोजगारीका लागि विदेश गएका कूल श्रमिकको ५१.९९ प्रतिशत हो । माघ महिनामा श्रम स्वीकृति लिएर कूल ५४ हजार ४७० जना विदेश गएको तथ्यांक छ । अघिल्लो महिना (पुस)मा विदेशिने अदक्षश्रमिक ५१.०३ प्रतिशत रहेको थियो ।
सरकारले नेपालबाट दक्ष श्रमिक विदेश पठाउने बताउँदै आएको भए पनि व्यवहारमा लागू हुन नसकेकोतथ्यांकले देखाएको छ । विभागको तथ्यांकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै दक्ष श्रमिक विदेश पठाउने रटान लगाइरहेका मन्त्री कृष्णकुमार श्रेष्ठलाई गिज्याइरहेको छ । मन्त्री श्रेष्ठ सहभागी कार्यक्रममा दक्ष श्रमिक पठाउने कुरालाई नै जोड दिइरहेका हुन्छन् तर पनि नेपालबाट जाने अधिकांश श्रमिक अदक्ष हुने गरेका छन् ।
माघ महिनामा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेमध्ये १२ जना उच्चदक्षता हासिल गरेका व्यक्तिरहेको विभागको तथ्यांकमा देखिन्छ । पुस महिनामा उच्चदक्षता भएका १६ जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएकाथिए । माघ महिनामा रोजगारीका लागि विदेश गएकामध्ये व्यवसायिक सीप हासिल गरेका ७५ जना रहेका छन् । जुन एक महिनामा विदेश गएकाको ०.१३ प्रतिशत हुन आउँछ । पुस महिनामा यस्तोश्रमिकको संख्या १०९ रहेको थियो ।
त्यस्तै नेपालबाट माघ महिनामा पाँच हजार ६९८ जना अर्धकुशल र कुनै न कुनै सीप हासिल गरेर रोजगारीका लागि विदेश जानेको संख्या २० हजार ३६४ जना रहेको छ ।
साउदीमा जाने धेरै
रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएकामध्ये सबैभन्दा धेरै साउदी अरबमा गएका छन् । माघ महिनामा ८४ देशमा श्रम स्वीकृति लिएर नेपालीहरू गएको विभागको तथ्यांकछ । जसमध्ये साउदीमा मात्रै १९ हजार ८३१ जना रोजगारीका लागि गएका छन् । साउदीपछि कतारमा १४ हजार ७५१ जना रोजगारीका गएका छन् । यसैगरी युएईमा ११ हजार ३०३ जना, कुवेतमा तीन हजार ५४ जना, बहराइनमा एक हजार ३०७ जना, ओमानमा ८२४ जना, मलेसियामा ६३७ जना, साइप्रसमा ३३७ जना र क्रोएसियामा २६३ जना रोजगारीका लागि गएका छन् ।
१० जिल्लाबाट हजारभन्दा बढी
माघ महिनामा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएकामध्ये सबैभन्दा धेरै धनुषाका छन् । धनुषाबाट एकै महिनामातीन हजार ३३८ जना विदेश गएका हुन् । उक्त महिना एक हजारभन्दा बढी विदेशिएका जिल्ला १० वटा रहेका छन् ।धनुषा, झापा, सिरहा, महोत्तरी, सर्लाही, कपिलवस्तु, चितवन, दाङ र मोरङबाट एक हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक विवरणमा उल्लेख छ ।
विभागका अनुसार झापाबाट दुई हजार ३२८, सिरहाबाट एक हजार ७०६ र महोत्तरीबाट एक हजार ५८४ जना विदेशिएका छन् । त्यस्तै सर्लाहीबाट एक हजार ३८४ जना, कपिलस्तुबाट एक हजार २७७, चितवनबाट एका हजार १३२, दाङबाट एक हजार १२४, सप्तरीबाट एक हजार ४७ र मोरङबाट एक हजार एक जना रोजगारीका लागि विदेशिएका छन् ।
माघ महिनामा मनाङबाट रोजगारीका लागि कोही पनि विदेश गएको तथ्यांकछैन । हुम्ला, मुस्ताङ र डोल्पाबाट भने क्रमशः चार, सात र नौ जना श्रम स्वीकृति लिएर विदेशिएको विभागले जानकारी दिएको छ ।