
काठमाडौं– पछिल्लो समय रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या घटिरहेको छ । कोरोना महामारीका कारण श्रम गन्तव्य मुलुकहरूमा कामदारका माग घट्नुलगायत कारण श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको हो ।
त्यसबाहेक धेरैजसो नेपाली खाडी मुलुकहरूमा भिजिट भिसामार्फत् कामकै लागि जाने गरेकाले पनि श्रम स्वीकृति लिनेको संख्या कम देखिएको अनुमान गरिएको छ ।वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जाने क्रम निकै घटेको छ ।
मंसिर महिनामा भन्दा पुस महिनामा र पुस महिनामा भन्दा माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ । मंसिर महिनामा वैदेशिक रोजगारीमा जान ७४ हजार तीन सय ५४ जनाले श्रम स्वीकृति लिएकोमा यो संख्या घटेर पुस महिनामा ६६ हजारमा झरेको थियो । माघ महिनामा यो संख्या अझै घटेर ५४ हजारमा झरेको छ ।
म्यानपावर एजेन्सीले पठाएका, आफैं व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने, पुनः श्रम स्वीकृति लिने र वैधानिकीकरण गर्नेको संख्या ५४ हजार चार सय ७० रहेको विभागको तथ्यांकले देखाएको छ ।
पुस महिनामा श्रम स्वीकृति लिनेको संख्या ६६ हजार ६ सय २५ रहेको थियो । मंसिर महिनामा पुनः श्रम स्वीकृतिसमेत गरी ७४ हजार तीन सय ५४ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।
विभागले दिएको जानकारीअनुसार मंसिरमा २८ हजार तीन सय २१ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लि“दा २० हजार तीन सय ६४ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । पा“च हजार ६ सय ९८ जना अर्धदक्ष, १२ जना उच्च सीप भएका र व्यावसायिक ७५ जनाले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।