
काठमाडौं – वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल बुझाएको रकम फिर्ता दिन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो ।
छलफलका क्रममा स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति पाँच लाख १० हजार बढी रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि समितिले विभागलाई उक्त निर्देशन दिएको छ ।समितिले वैदेशिक रोजगारीमा पठाउँछु भनी सरकारले तोकेभन्दा बढी शुल्क उठाउने र विदेशसमेत नपठाउने सो म्यानपावर कम्पनीलाई कालोसूचीमा पनि राख्न निर्देशन दिएको छ ।
उक्त म्यानपावर कम्पनीमाथि भएको कारबाहीको विवरण पठाउन पनि समितिले विभागलाई निर्देश गरेको छ ।विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीमा परेका युवाको उजुरीमाथि तत्काल छानविन गरी उनीहरुको रकम फिर्ता गरिने बताएका छन् । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’लाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।