
काठमाडौं– कतार र मलेसियापछि अब ओमानमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रदान गर्न थालिएको छ ।
ओमानस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरीमंगलबार दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट परीक्षण सफल भएको जानकारी दिएको छ ।
साथै, मंगलबारबाट नै विद्युतीय राहदानीको सेवा प्रदान गर्न थालिएको दूतावासले जनाएको छ । मंगलबार परीक्षणको रूपमा अमित गिरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरिएको र उनको राहदानी प्रिन्टसमेत भएको दूतावासले जनाएको छ ।
दूतावासले पहिलो दिन राहदानी नवीकरणका लागि आएका सात जनाको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरेको पनि जानकारी दिएको छ ।
ओमानमा रहेका नेपालीले विद्युतीय राहदानीका लागि आफ्नो पुरानो राहदानीको सक्कल, नागरिकताको प्रतिलिपि र २० ओमानी रियाल राजस्व तिर्नु पर्दछ । विद्युतीय राहदानी नवीकरणका लागि दूतावासमा व्यक्ति आफैँउपस्थित हुनुपर्नेछ । यसअघि कतार र मलेसियामा रहेका नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्न थालिसकेका छन् ।