
काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले करिब दुई वर्षदेखि रोकिएको नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम सुरू गरेको छ । कोरोना महामारीको कारण बन्द रहेको मागपत्र प्रमाणीकरण गर्ने कार्य मंगलबारदेखि सुरू भएको हो ।
सन् २०२० को मार्चदेखि नै आवागमन नियन्त्रण आदेश जारी गरेपछि दूतावासले पनि नयाँमागपत्र प्रमाणीकरणको काम स्थगन गरेको थियो ।
तर, मलेसियाले विभिन्न मापदण्डसहित जनवरी २८ तारिखदेखि विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरू गरेपछि दूतावासले कामदार मागपत्र प्रमाणीकरणको काम सुरू गरेको हो ।
नयाँ मागपत्र प्रमाणीकरणका लागि मंगलबार, बुधबार र बिहीबार पेस गर्न सकिने व्यवस्था दूतावासले गरेको छ । प्रमाणीकरण भएको मागपत्र सोमबार दिइने दूतावासले जानकारी दिएको छ ।
तर, दूतावासमा मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात पेस गर्नुभन्दा अघि दूतावासको वेबसाइटमा गई त्यहाँ उपलब्ध अनलाइन फाराम भरेर समय लिनुपर्नेछ ।