
काठमाडौं– नेपालीहरूको श्रम गन्तव्य मुलुकमध्येको एक कुवेतले कोराना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको नियम संशोधन गरेको छ । रोजगारी तथा अन्य प्रयोजनका लागि आफ्नो देश आउने विदेशी नागरिकका लागि कुवेतले नियम परिवर्तन गरेको हो ।
परिवर्तित नियमानुसार अब कुवेत पुग्ने यात्रु तथा श्रमिकलाई पिसिआर परीक्षण र होटल क्वारेन्टाइन अनिवार्य हुने छैन ।कुवेतले कोरोनाको दुवै मात्रा खोप लगाएका यात्रुका लागि अनिवार्य पिसिआर परीक्षण र क्वारेन्टाइनको नियम हटाउने भएको हो ।
यही ८ फागुन अर्थात् फेब्रुअरी २० देखि लागू हुने गरी कुवेतले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाएका यात्रुले प्रस्थानपूर्व र कुवेत पुगिसकेपछि गर्नुपर्ने अनिवार्य पिसिआर परीक्षण र क्वारेन्टाइनको नियम हटाएको हो । उक्त निर्णय सोमबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले गरेको स्थानीय सञ्चारमाध्यम कुवेत टाइम्सले लेखेको छ ।
यस्तै, कुवेतले खोप नलगाएका यात्रुलाई पनि कुवेत प्रवेशको अनुमति दिने निर्णय गरेको छ । तर, साथमा कोरोनाको पिसिआर परीक्षण ‘नेगेटिभ’ भएको ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट हुनुपर्छ । खोप नलगाएका यात्रुले भने सात दिन क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्नैपर्छ ।
कोरोना खोपको एक मात्रा लगाएका यात्रुको भने पिसिआर रिपोर्ट साथमा नभए पनि हुने, तर सात दिन क्वारेन्टाइन भने बस्नैपर्ने निर्णयमा उल्लेख छ । क्वारेन्टाइनमा बस्दा पिसिआर परीक्षण गर्नुपर्ने भनिएको छ ।