
काठमाडौं– गैर आवासीय नेपालीहरूको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय विवाद नै विवादमा फसेको छ । महाधिवेशन प्रतिनिधि छनोट लगायतका अन्य विषयमा विभिन्न देशमा रहेका एनआरएनएका पदाधिकारी तथा सदस्यहरूबीच विवाद सिर्जना भएको हो । यस्तै परिस्थितिमा एनआरएनए उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न संघका संरक्षक देवमान हिराचन तथा पूर्वअध्यक्ष भवन भट्टलाई जिम्मेवारी निर्णय गरेको छ ।
एनआरएनएको उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद समाधान नभए निर्वाचन गर्ने पूर्ण अधिकारसमेत दिइएको संघको सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गत जुलाई ३० मा गरिएको एनसिसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउन र कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि हिराचन र भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । एनआरएनए जापानको निर्वाचनमा विधानविपरीत दुई हजार २५० विद्यार्थी सदस्य बनाइ एक हजार ७०० भन्दा बढी विद्यार्थीले मतदान गर्नाका साथै प्रविधिको चरम दुरूपयोग गरिएको भन्दै उजुरी परेको थियो ।
गत अक्टोबरमा नै हुनुपर्ने एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचन विभिन्न देशमा प्रतिनिधि विवादका कारण अहिलेसम्म हुन सकेको छैन । संघको विवाद समाधान गरी महाधिवेशन तथा निर्वाचन गराउन संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ । खासगरी बेलायत, अमेरिका, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया, डेनमार्क, फ्रान्स, जापान लगायतका एनसिसीमा रहेको विवादका कारण महाधिवेशन हुन सकेको छैन ।