
काठमाडौं – कतारस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । कतारस्थित नेपाली दूतावासबाट आइतबारदेखि ‘लाइभ इनरोलमेन्ट’ गरी सफलतापूर्वक विद्युतीय राहदानी जारी गरिएको हो । राहदानी विभागका अनुसार आइतबार कतारस्थित नेपाली दूतावासबाट जारी गरिएको विद्युतीय राहदानी विदेशस्थित नेपाली दूतावासबाट जारी भएको पहिलो विद्युतीय राहदानी भएको छ । योसँगै आइतबारबाटै विद्युतीय राहदानीको लागि कतारमा रहेको नेपाली दूतावासले बुकिङसमेत खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
खाडीका अन्य देश र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्नका लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको छ विभागले जनाएको छ । उपकरणहरू जडान हुनासाथ केही दिन भित्रै खाडीमुलुकका अन्य देश र मलेसियाबाट पनि विद्युतीय राहदानीको लागि आवेदन दिन मिल्ने छ ।
त्यस्तै, खाडी र मलेसियाबाहेक अन्य देशहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने काम भइरहेको रहेको विभागले जनाएको छ । ति नेपाली नियोगहरूमा उपकरण पुगेपछि केही हप्ताभित्रैबाट विद्युतीय राहदानी जारी गर्ने सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ ।
नेपालको हकमा भने अहिले ३६ वटा जिल्ला प्रशासन कार्यालयहरू र ५ वटा इलाका प्रशासन कार्यालयहरूबाट गरी जम्मा ४१ ठाउँबाट हाल विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लाहरूमा तीन वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको छ । बाँकी जिल्लामा पनि उपकरण जडान, नेटवर्किङ तथा तालिमको काम सम्पन्न भएपछि तुरुन्तै विद्युतीय राहदानी जारी गर्ने सेवा सुरु गरिने विभागले जनाएको छ ।