
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । वैदेशिक रोजगारीमा गएको व्यक्तिहरूले आफूहरू पीडित भएको गुनासो गरेपछि उनी विभागको अनुगमनमा गएका हुन् । बुद्धनगरस्थित विभागको अनुगमनका क्रममा श्रममन्त्री श्रेष्ठले विभागका कर्मचारीहरूलाई पीडितको गुनासोलाई समयमै सम्बोधन गर्न निर्देशन पनि दिएका छन् ।
उनले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै मन्त्री श्रेष्ठले असन्तुष्टि समेत व्यक्त गरेका थिए । उनले विभागमा गुनासो लिएर पुग्ने सर्वसाधरणको कुरालाई गम्भीरतापूर्कक सुनेर आवश्यक कारबाही प्रक्रिया तत्काल थाल्न निर्देशन दिए । ‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरू आउँदा समयमा उहाँहरूलाई रेस्पोन्स लिइदिनुस् । रेस्पोन्स लिँदा पनि, के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिँदा पनि ५० प्रतिशत उसको घाउमा मल्हम लाग्छ’ विभागका महानिर्देशक दीपक काङ्खलेसहित कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘सचिवज्यू र म अहिले आएर हेर्दा तपाईंहरूको कर्मचारीबाट सेवाग्राहीले त्यो सेवा नपाएको भन्ने हामीले गुनासो पायौँ, यसलाई सुधार्नुस् ।’
मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरूलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताएका छन् । यस्तै वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरूलाई छलफल गरेर रिपोर्ट मन्त्रालयमा पेस गर्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
जवाफमा विभागका महानिर्देशक काङ्खलेले विभाग वैदेशिक रोजगारीमा जाने श्रमिकको गुनासोलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक लागिरहेको बताउँदै आगामी दिनमा उचित ढंगले स्रोत साधनको परिचालन गर्दै गुनासोमा सुनुवाइमा लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले मन्त्री श्रेष्ठको निर्देशनअनुसारको रिपोर्ट मन्त्रालयमा यथाशक्य चाँडो पेस गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।