
काठमाडौं– साउदी अरब सरकारले अकामाको नवीकरण तथा एक्जिट र रि–इन्ट्री भिसाको म्याद आगामी ३१ मार्चसम्म थप शुल्क नलिई नवीकरण गर्ने भएको छ । यो सम्बन्धी विषय हेर्ने साउदी अरबको सरकारी निकाय जवाजतले आवासीय अनुमति (अकामा) र एक्जिट तथा रि–इन्ट्री भिसाको समय थप गरेको र त्यसका लागि कुनै अतिरिक्ति शुल्क नलाग्ने जनाएको हो ।
कोभिड–१९ का कारण विभिन्न मुलुकहरूमा तथा ती मुलुकबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी श्रमिकलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरू साउदी सरकारको सो निर्णयबाट लाभान्वित हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–इन्ट्री भिसाको म्याद स्वतः ३१ मार्चसम्म थपिने जनाएको छ । यसका लागि कुनै थप प्रक्रिया गर्नु नपर्नेसमेत जनाइएको छ । तर, साउदी अरबमा यसअगाडि नै एक मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएका र स्वदेश फर्किएर पुनः साउदी अरब फर्किनु पर्नेहरूका लागि भने यो नियम लागू नहुने बताइएको छ । उनीहरूलाई भने पहिले कै नियम लागू हुने बताइएको छ ।
०