
काठमाडौं– पुस महिनामा नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये ५१ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा श्रम स्विकृति लिएर विदेश गएका ६६ हजार ६ सय २५ जनामध्ये ३४ हजार अदक्ष श्रमिक हुन् । जुन पुस महिनामा रोजगारीका लागि गएका नेपालीको जम्मा संख्याको ५१.०३ प्रतिश हुन आउँछ ।
पुस महिनामा उच्च दक्षता हासिल गरेका १६ जना नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । यो संख्या ०.०२ प्रतिशत हो । जसमा १ जना महिना र १५ जना पुरुष रहेका छन् । यो संख्या मंसिर महिनामा १५ जना रहेको थियो । पुस महिनामा नेपालबाट व्यावसायिक क्षमता हासिल गरेका १ सय ९ जना रोजगारीका लागि विदेश गएको देखिएको छ । यो संख्या पुस महिनामा रोजगारीका लागि विदेशिएकाको ०.१६ प्रतिशत हो । मंसिर महिनामा व्यवसायी दक्षता हासिल गरेका १० जना वैदेशिक रोजगारीमा गएका थिए ।
त्यस्तै पुस महिनामा नेपालबाट ६ हजार ९ सय ९ जना अर्धदक्ष श्रमिक विदेश तिर लागेका छन् । जुन पुस महिनामा विदेश गएकाको १६.३६ प्रतिशत हुन आउँछ । मंसिर महिनामा नेपाल छाड्ने अर्धदक्ष श्रमिकको संख्या ६ हजार ६ सय २० जना रहेको थियो । नेपालबाट पुस महिनामा २५ हजार ५ सय ९१ ज्ना दक्ष श्रमिक विदेश गएको तथ्यांकले देखाएको छ । जुन पुस महिनामा विदेश गएकाको ३८.४१ प्रतिशत हो । मंसिर महिनामा ३१ हजार ९ सय १६ जना दक्ष श्रमिक रोजगारीको सिलसिलामा विदेश लागेका थिए । पुस महिनामा पनि सबैभन्दा बढी ३४ हजार अदक्ष श्रमिक विदेश गएका छन् । मंसिर महिनामा पनि सबैभन्दा बढी ३५ हजार ७ सय ३३ जना अदक्ष श्रमिक नै रोजगारीका लागि विदेश गएका थिए ।
सबैभन्दा धेरै साउदी
यसैबीच, पुस महिनामा नेपालबाट रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै साउदी अरब गएका छन् । पुस महिनामा श्रम स्विकृति लिएर ८८ देशमा रोजगारीका लागि गएकामध्ये २५ हजार २ सय १८ जना साउदी गएको विभागको तथ्यांकले देखाएको छ । मंसिर महिनामा रोजगारीका लागि साउदी जानेको संख्या २४ हजार ९ सय ९२ रहेको थियो । पुस महिनामा साउदीपछि धेरै नेपाली रोजगारीका लागि गएको देश कतार हो । जहाँ पुस महिनामा १८ हजार ३ सय ८१ जना रोजगारीको सिलसिलामा गएको तथ्यांकले देखाएको छ । मंसिर महिनामा भने २३ हजार ७ सय ७७ जना रोजगारीका लागि कतार गएका थिए ।
त्यस्तै पुस महिनामा रोजगारीका लागि युएई जाने नेपालीको संख्या १३ हजार ७ सय १४ जना रहेको छ । युएई जानेको संख्या मंसिर महिनामा १६ हजार ६ सय ४७ जना रहेको थियो । यस्तै पुस महिनामा नेपालबाट ३ हजार २ सय ७५ जना कुवेत गएको विभागको तथ्यांकमा देखिएको छ । पुस महिनामा रोजगारीका लागि ओमान जानेको संख्या ८ सय ३४ जना, मलेसिया जानेको संख्या ७ सय १०, क्रोएसिया जानेको संख्या ४ सय ५८ र साइप्रस जानेको संख्या ३ सय ४३ रहेको छ ।