
काठमाडौं– नेपालबाट रोजगारीको शिलसिलामा विदेश जाने नेपालीको संख्यामा कमि आएको छ । केही महिनामा पहिलेसम्म बढ्दै गएको संख्या पुस महिनामा घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो ।
पुस महिनामा मंसिर महिनाभन्दा ७ हजार ७२९ जनाले कमी आएको विभागको तथ्यांकले देखाएको छ । मंसिर महिनामा नेपालबाट ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । तर, पुस महिनामा यो संख्या ६६ हजार ६२५ रहेको विभागको विभागले जनाएको छ । पुस महिनामा विदेश जाने नेपालीमध्ये ६२ हजार २७३ जना पुरुष र ४ हजार ३५२ जना महिला रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको अर्धवाषिक समयावधिमा नेपालबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या २ लाख ९७ हजार ३६ जना पुगेको विभागको तथ्यांकले देखाएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा १ लाख भन्दा बढी हो । अघिल्लो पूरै आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको ६ महिनामा १ लाख ३० हजार ३३७ जना बढीले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
अघिल्लो आर्थिक वर्षमा भने नेपालबाट १ लाख ६६ हजार ६९९ जना रोजगारीका लागि विदेश गएका थिए । कोरोनाका कारण अघिल्लो वर्ष भने नेपालबाट रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै कमी आएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै कोरोनाको संक्रमणमा कमी आएका कारण विदेश जाने नेपालीको संख्यामा वृद्धि भएको बताइएको छ ।
चालू आर्थिक वर्षको सुरुका पाँच महिनामा लगातार बढेको संख्यामा छटौँ महिना पुसमा भने कमि आएको देखिएको छ । आर्थिक वर्षको पहिलो महिना साउन महिनामा २५ हजार ४२८ जना विदेश गएका थिए । यो संख्या बढ्दै गएर अघिल्लो महिना ७० हजारभन्दा बढी पुगेको थियो । तर, पुस महिनामा श्रम स्वीकृति लिएर विदेश जानेको संख्यामा केही कमी आएको विभागले जनाएको छ ।