
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनले व्यवसायीलाई दुःख नदिन आग्रह गरेको छ । व्यवसायीलाई गलत रूपमा प्रस्तुत गर्ने गरी कार्य गरिएको भन्दै यसबाट एसोसिएसनको ध्यानाकर्षण भएको बताएको हो । एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले यस्ता गतिविधिले व्यवसायीको मर्यादामा ठेस पुगेको भन्दै यस्ता गतिविधि रोक्नका लागि आग्रह गरे । ‘यस्तो कार्यमा संलग्नलाई कडाभन्दा कार्बाही गर्नका लागि गृहमन्त्रालसँग आग्रह गर्दछौँ’, उनले भने ।
व्यवसायीका विषयमा कुनै गुनासो भएको खण्डमा विभाग जान सकिने भए पनि क्यामरा बोकेर व्यवसायीलाई बदनाम गर्ने कार्य भयो, यसको एसोसिएसनले घोर विरोध गर्ने ढकालले बताएका छन् । व्यवसायीलाई दुख दिने कार्य तत्काल रोकिनु पर्ने र यदि त्यस्ता व्यक्तिहरूले दुःख दिएमा एसोसिएसनमा खबर गर्नका लागि पनि उनले व्यवसायीलाई आग्रह गरेका छन् । साथै त्यस्ता गतिविधिबाट सतर्क रहनका लागि पनि एसोसिएसनले सबै व्यवसायीलाई अनुरोध गरेको छ ।
व्यवसायीको कार्यालय–कार्यालयमा गएर व्यवसायीलाई धम्क्याउने, थर्काउने कार्य गरिएको भन्दै त्यस्तो कार्य रोक्नका लागि पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् । युट्युवरहरू पछिल्लो समय न्यायाधीशजस्तै गरी व्यवसायीका कार्यालयमा गएर दुव्र्यवहार गर्ने गरेको आरोप व्यवसायीहरूको छ ।