
काठमाडौं– रोजगारीका लागि विदेश गएर आएर पुनः विदेश रोजगारीका लागि जाने श्रमिकले पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिनु पर्ने भएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्विकृति दिने भएसँगै अब अनलाइन प्रणालीबाट मात्रै पुनः श्रम स्विकृति लिनु पर्ने भएको हो ।
०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट सेवा प्रभाह गरेको कार्यालयले आइतबारदेखि भने अनलाइनबाट मात्र पुनः श्रम स्विकृतिको काम हुने बताइएको छ । अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्विकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली श्रमिकले पुनः श्रम स्विकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताइएको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम् उपयोग गरी श्रम स्विकृतिलाई ‘पेपरलेस’ बनाइन बताएका थिए । जसबाट सहजरूपमा सेवा प्रदान गर्न सकिने र सरकारले यस्तो व्यवस्था मिलाउने बताएका थिए । श्रम स्विकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरूप्मा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयल जनाएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्विकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको बताइएको छ ।