
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताएका छन् । बिहीबार पोखरामा आयोजित सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
सुरक्षित वैदेशिक रोजगारीको विषय सबैको साझा विषय भएको भन्दै संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने मन्त्री श्रेष्ठले बताएका छन् । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स देशको आर्थिक मेरुदण्डका रूपमा रहेको भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच नीतिगत परिवर्तन, लागत साझेदारी, प्रभावकारी कार्यान्वयन र समस्याको दिगो समाधानको लागि समन्वय हुनु आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।
सरकारको प्राथमिकता आन्तरिक रोजगारीको क्षेत्र प्रवद्र्धन गर्दै बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने भए पनि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप नेपालमा सामी परियोजना सञ्चालनमा रहेको छ । जसको नीतिगत अगुवाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भने प्रदेश सरकारले समन्वय र अनुगमनको भूमिका निर्वाह गरिरहेको छ साथै स्थानीय सरकारहरूको नेतृत्वमा यो परियोजना कार्यान्वयनमा रहेको बताइएको छ ।
परियोजनाले ४ लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरेको, १३ हजार १ सय ७७ जनालाई निःशुल्क कानुनी सहायता, वैदेशिक रोजगारको कारण मनोसामाजिक समस्या न्यूनीकरणका लागि २३ हजार ४ सय १७ जनालाई मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता २१ हजार २७ जनालाई प्रदान गरिएको जनाएको छ । साथै निःशुल्क सीप तालिम ३ हजार ३ सय ५१ जनालाई प्रदान गरिएको परियोजनाले जनाएको छ ।