
काठमाडौं– कुवेतमा रहेको नेपाली दूतावासले स्थानीय रोजगारतालाई नेपाली श्रमिकलाई सेवा सुविधाबाट वञ्चित नगर्न आग्रह गरेको छ । शनिबार कुवेतमा रहेको नेपाली दूतावास र स्थानीय रोजगारदाताबीचको छलफलमा यस्तो आग्रह गरिएको हो ।
नेपाली दूतावासमा भएको दुई पक्षको छलफलमा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले रोजगारदातालाई नेपाली श्रमिकलाई सेवा सुविधाबाट वञ्चित नगर्न आग्रह गरेको दूतावासले जनाएको छ । राजदूत भण्डारीले जोखिमयुक्त कार्यक्षेत्रमा खटाउनुपूर्व सुरक्षाको उपायहरू अपनाउनुपर्ने, श्रमिकको तलब भत्ता तथा सेवा सुविधा तोकिएकै समयमा दिनुपर्ने विषयमा रोजगारदाताको ध्यानाकर्षण गराएको बताइएको छ ।
यस्तै राजदूत भण्डारीले कम्पनी र श्रमिकबीच भएको करार सम्झौता अनुसारको खाना तथा आवासको व्यवस्था गर्न र कम्पनीको बारेमा म्यानपावर एजेन्सीसँग छलफल गरी स्पष्ट पारिनुपर्नेमा पनि जोड दिएको बताइएको छ । कार्यक्रममा सहभागीका तर्फबाट राजगारदाताहरूले नेपाली श्रमिकको प्रशंसा गर्दै उनीहरूलाई दिने सेवा सुविधा तथा सुरक्षाको प्रतिवद्धतासमेत व्यक्त गरेको दूतावासले जनाएको छ ।