
काठमाडौं– नेपालीहरूको रोजगार गन्तव्य मुलुक ओमानमा आइतबारदेखि कोरोनाविरुद्धको तेस्रो मात्राको खोप दिइने भएको छ । आइतबारदेखि ओमानमा रहेका आप्रवासीहरूलाई कोरोना खोपको तेस्रो मात्रा दिइने भएको हो ।
९ जनावरीदेखि सुरु भएको खोप लगाउने कार्यक्रम १३ जनावरीसम्म सञ्चालन हुने बताइएको छ । खोप ओमानको सोहरमा रहेको पुनस्र्थापना केन्द्र (रिह्याबिलेसन सेन्टर) बाट दिइने त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दोस्रो डोज लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूले खोप लाउन सक्ने समाचारमा उल्लेख गरिएको छ । यस्तै ओमानमा पछिल्लो समय कोरोना संक्रमणसमेत बढ्दै गएको बताइएको छ । त्यहाँ बिहीबार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । बुधबार पनि त्यहाँ २ सय ५२ जना नयाँ संक्रमित थपिएको बताइएको छ ।
ओमानमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार १ सय १७ जनाले ज्यान गइसकेको छ । ओमानमा हालसम्म ३ लाख ६ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ लाख ६ सय ६६ जना निको भएको तथ्यांकले देखाएको छ । १ हजार ९ सय ७२ जना सक्रिय संक्रमित रहेको कोरोनाको तथ्यांक राख्ने वल्ड्रोमिटरको तथ्यांकले देखाएको हो ।
ओमानले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदन्डको पालना गर्न आग्रह समेत गरेको छ । भौतिक दुरी कायम गर्ने र अनिवार्य मास्कको प्रयोग गर्नपर्छ नियम लागू गरिएको छ । ओमानमा रहेका नेपालीहरूलाई स्वास्थ्य मापदन्डको पूर्ण पालना गरेर कोरोना संक्रमण हुनबाट बच्न त्यहाँ रहेको नेपाली दूतावासले समेत आग्रह गरेको छ ।