
काठमाडौ.– एकपटक पत्रिकामा पूर्वस्विकृतिको विज्ञापन प्रकाशन गरेपछि तीन महिनासम्म मान्य हुने भएको छ । अनलाइन श्रम स्विकृति प्रणाली फेम्समा पनि एकपटक विज्ञापन गरिसके पछि तीन महिनासम्म पुनः विज्ञापन गर्नु नपर्ने गरी निर्णय भएको नेपाल वैदेशिक रोजगार व्यवसायीको संघका कार्यबाहक अध्यक्ष कमल तामाङले बताएका छन् ।
संघको तर्फबाट राखिएका मागमा मन्त्रीले देखाएको तदारुकताले व्यवसायीमा आसा पलाएको उनले बताए । यसअघि एक हप्ता समय सकिएपछि पुनः विज्ञापन गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
त्यस्तै, रोजगारीका श्रमिकलाई विदेश पठाउनका लागि पूर्वस्वीकृति लिई सकिएका मागपत्रको समयावधि ६ महिना थप भएको छ । संघको पहलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको निर्णयबाट ६ महिना थप भएको संघका कार्यवाहक अध्यक्ष तामाङले बताएका छन् ।
‘कोभिड–१९ का कारण समयावधि समाप्त भएका मागपत्रको समय ६ महिना थप भएको छ, यो वैदेशिक रोजगार व्यवसायीका लागि सकारात्मक कार्य हो,’ उनले भने । साथै १० वर्षदेखि नखोलिएको जापान श्रमिक पठाउने जिट्कोको इजाजत पनि खुला गरिएको छ । सबै व्यवसायीले यसमा सूचीकृत हुन पाउने गरी निर्णय भएको कार्यवाहक अध्यक्ष तामाङले बताए ।