
काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो चौमासिकको पहिलो महिना मंसिरमा झन्डै ७५ हजार जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । मंसिर महिनामा नयाँ पुराना गरी ७४ हजार ३ सय ५४ जना रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिएको छ । जुन कात्तिक महिनाको भन्दा १९ हजार ४ सय ३६ ले बढी हो ।
विभागले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकअनुसार ६९ हजार ४ सय ४३ पुरुष र ४ हजार ९ सय ११ जना महिला रोजगारीका लागि विदेश गएका छन् । यो एक महिनाको अवधिमा ३४ हजार ४ सय ९७ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसमध्ये ३१ हजार ७ सय १२ जना पुरुष र २ हजार ७ सय ८५ जना महिला रहेको तथ्यांकले देखाएको छ । एक महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ३९ हजार ८ सय ५७ रहेको छ । जसमध्ये ३७ हजार ७ सय ३१ पुरुष र २ हजार १ सय २६ जना महिला रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।
मंसिर महिनामा नेपालबाट ९० देशमा श्रम स्वीकृति लिएर नेपाली युवाहरू गएका छन् । मंसिर महिनामा रोजगारीका लागि साउदी अरब जाने नेपालीको संख्या सबैभन्दा धेरै रहेको छ । एक महिनाको अवधिमा २४ हजार ९ सय ९२ जना नेपाली साउदी गएका छन् । त्यस्तै धेरै श्रमिक जाने देशको दोस्रो स्थानमा कतार रहेका छ । कतार जाने नेपालीको संख्या २३ हजार ७ सय ७७ जना रहेको छ । यसैबीच, युएई जानका लागि श्रम स्वीकृति लिनेको संख्या १६ हजार ६ सय ४७ जना रहेको छ । त्यस्तै कुवेत जानेको संख्या २ हजार ७१ र एक महिनाको अवधिमा १ हजार ६ सय ५७ जनाले बहराइन जानका लागि श्रम स्वीकृति लिएको देखिएको छ । मंसिर महिनामा नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया जानेको संख्या जम्मा ४ सय ४९ जना रहेको छ । कोभिड पछि मलेसिया अझै पनि खुल्ला भइसकेको छैन ।
त्यस्तै अर्को श्रम गन्तव्य मुलुक ओमानका लागि ९ सय ७१ जनाले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख गरिएको छ । पछिल्लो समय युरोपेली मुलुक रोमानिया जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । मंसिर महिनामा रोमानिया जाने नेपालीको संख्या ५ सय ६२ जना रहेको छ । जुन अघिल्लो महिनाको तुलनामा ८० जनाले बढी हो । मंसिर महिनामा रोमानिया जानका लागि ४ सय ८२ जनाले श्रम स्वीकृति लिएका थिए ।
धनुषाबाट सबैभन्दा बढी
मंसिर महिनामा विदेश जानका लागि श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट एक महिनाको अवधिमा ४ हजार ८ सय २२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यो अवधिमा सबैभन्दा कम मुस्ताङबाट २ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । धैरै श्रम स्वीकृति लिनेको दोस्रो नम्बमा सिराह रहेको छ । त्यहाँबाट मंसिर महिनामा ३ हजार ७ सय २० जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैबीच, झापाबाट ३ हजार ४ सय ५५, महोत्तरीबाट ३ हजार ३ सय ४, मोरङबाट २ हजार ९ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै सुनसरीका २ हजार ५ सय ५० जना, सर्लाहीका २ हजार ३ सय ३८, रूपन्दहीका २ हजार २ सय ४, तनहुँका २ हजार १ सय ४७, सप्तरीका २ हजार ५४ र स्याङजाका २ हजार ६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै मंसिर महिनामा कास्की, काभ्रेपलान्चोक, लम्जुङ, उदयपुर, पाल्पा, कपिलबस्तु, गुल्मी, गोरखा, धादिङ, दाङ, चितवन, वारा, बाँके र बाग्लुङबाट १ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
एक महिनाको अवधिमा सबैभन्दा कम श्रम स्वीकृति लिनेको संख्या मनाङ जिल्लाका २ जना रहेका छन् । त्यस्तै हुम्ला र डोल्पाबाट समान ६–६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मुस्ताङबाट ९ र मगुबाट एक महिनामा १८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।