
दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरूको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो केही दिनयता कोरोना संक्रमण फेरि बढ्न थालेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३६७ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये २१६ समुदायभित्रकै संक्रमित हुन् भने १५१ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ४८ हजार ८०२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कतारमा १५१ जना संक्रिमत संक्रमण्मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४५ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ । कतारमा हालसम्म ६१६ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या ३ हजार १३९ रहेको छ भने १६४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये १८ जनाको आइसियूमा उपचार भइरहेको छ ।
कतारमा यो समाचार तयार पर्दासम्म ५१ लाख ७२ हजार ५९७ जनाले कोरोनाबिरुद्धको खोप लगाइसकेका छन् भने २ लाख ४७ हजार ६३१ जनाले बुस्टर डोजसमेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन र दुबै डोज खोप लगाइसकेकालाई बुस्टर डोज लिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।