
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावको मिति नजिकिँदै गर्दा अध्यक्षमा दाबी गर्ने क्रम बढेको छ । प्रभाव दैनिकसँग कुरा गर्दै संघको हालका महसचिव सुजितकुमार श्रेष्ठले आगामी कार्यसमितिको अध्यक्षमा आफ्नो दाबी रहेको बताएका छन् ।
अघिल्लो चुनावमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका तर्फबाट महासचिवमा विजयी भएका श्रेष्ठले नयाँ कार्यकालका लागि अध्यक्षमा दाबी गरेका हुन् । संघको आगामि चुनावका लागि एसोसिएसनका तर्फबँट ४ जनाले अध्यक्षमा दाबी गरेको र त्यसमध्ये एक आफू पनि भएको उनले बताए ।
‘चुनावको समयमा सबैले दाबी गर्ने कुरा हुन्छ तर एसोसिएसनले निर्णय गर्ने र सोहीअनुसार अगाडि बढ्ने योजना बनाएको छु,’ महासचिव श्रेष्ठले बताए । सत्तारूढ नेपाली कांग्रेसनिकट एसोसिएसनका तर्फबाट संघका हालका कार्यवाहक अध्यक्ष कमल तामाङ, द्वितीय उपाध्यक्ष कमलदेव मल्ल, महासचिव सुजितकुमार श्रेष्ठ, पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरूङले अध्यक्षमा दाबी गरिरहेको बताइएको छ । ‘अध्यक्षको टुंगो लागेपछि मात्रै अन्य उम्मेदवारको टुंगो लाग्ने र सोहीअनुसारको टिम बन्छ,’ महासचिव श्रेष्ठले भने ।
उनीहरूमध्ये एक जना सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार टुंगो लगाउने एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । आकांक्षीहरू धेरै छन्, छलफल गरेर टुंगोमा पग्नु पर्ने अवस्था रहेको ढकाले बताए । अहिलेसम्म महासचिवका लागि हालका सचिव मेघनाथ भुर्तेलले दाबी गरेका छन् । ‘आफू दुई कार्यकाल संघमा रहेर काम गरेको र अब यो भन्दा माथिको पद नै महासचिव भएले मैरो दाबी हो,’ भुर्तेलले भने ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट ३ जना अध्यक्षका आकाक्षी रहेका छन् भने सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले पनि अध्यक्षमा उम्मदेवारी नै घोषणा गरेका छन् ।