
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्वेदेशमै रोजगारी सिर्जना गर्नु पर्ने र अहिलेको सरकार त्यसतर्फ लागि रहेको बताएका हुन् ।
‘समृद्ध नेपाल निर्माणका लागि रोजगारी आवश्यक पर्छ र वर्तमान सरकार त्यसतर्फ लागेको छ,’ मन्त्री श्रेष्ठले भने । उनले बर्तमान सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माणमा लागेको बताएका छन् । विदेश जाने बाध्यतालाई हटाएर स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि काम भइरहेको पनि उनले बताए ।
तत्कालै विदेश जानका लागि रोक्न सक्ने अवस्था नरहेको भन्दै उनले विदेश जाने युवाहरूलाई तालिम र सीप सिकाएर पठाउनेतर्फ पनि सरकारले काम गरिरहेको बताएका छन् । यसका लागि सरकारले ७ वटै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको पनि बताए । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको वैदेशिक रोजगारीलाई मर्यादित बनाउनु पर्ने उनको तर्क थियो । अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको यो क्षेत्रलाई सुरक्षित बनाउनेतर्फ सबैको ध्यान जानु पर्ने मन्त्री श्रेष्ठले बताए ।