
दोहा(प्रस)– संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र युएईका मानव संशाधन तथा इमिरटाइजेसन मन्त्री डा अब्दुलरहमान अब्दुलमन्नान अल अबरबीच भेटवार्ता भएको छ ।
उनीहरू बीच भएको भेटवार्तामा राजदूत ढकालले कोरोना महामारी (कोभिड–१९) को कठिन परिस्थितिमा नेपाली कामदारको हेरचाह गर्ने र महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य उपकरण र सामग्री उपलब्ध गराएकामा युएई सरकारलाई धन्यवाद दिएका थिए ।
नेपाली कामदारहरूको कडा परिश्रम र इमानदारीको प्रशंसा गर्दै युएई श्रममैत्री मापदण्डको विश्वव्यापी श्रम बजार बन्न चाहेको बताउँदै मन्त्री अल अबरले २०२२ फेब्रुअरीदेखि लागू हुने नयाँ श्रम कानुनमा जानकारी गराएका थिए । नेपाल र युएई सरकारबीच भएको श्रमिक भर्ना, रोजगारी र स्वदेश फिर्तासम्बन्धी समझदारी पत्रमा व्यवस्था भएबमोजिम जतिसक्दो चाँडो संयुक्त समितिको बैठक बोलाउनुपर्नेमा उनले जोड दिएको नेपाली दूतावासले जारी गरेको बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
उनीहरू बीच युएईमा कार्यरत नेपालीहरूको हित प्रवद्र्धन गर्नेलगायत विविध विषयहरूमा पनि छलफल भएको थियो । भेटमा इमिरेट्स मन्त्रालयका उच्चस्तरीय अधिकारी तथा नेपाली दूतावासका काउन्सिलर र श्रम सहचारीको सहभागिता रहेको थियो ।