
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव यहि ३० पुसमा हुने भएको छ । यसअघि २३ पुसमा हुने तय भएको संघको साधारण सभा एक हप्ता पछि सरेको हो । संघको बुधबार बसेको कार्य समितिको बैठकले चुनावसहितको साधारण सभाको समय केही समय पर सारेर पुसको अन्तिममा पुर्याएको संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् ।
संघको २१ मंसिरमा बसेको कार्यसमितिको बैठकले २३ पुसका लागि साधारण सभा गर्ने निर्णय गरेको भए पनि संघसँग सम्बन्धित विभिन्न संघसंस्थाले निर्वाचको मिति सार्नका लागि आग्रह गरेकाले मिति सरेको बताइएको छ । संघको चुनाव सार्नका लागि लिखित रूपमा नै निवेदन दर्तासमेत भएको र सोहीअनुसार मिति परिवर्तन गर्न परेको संघले जनाएको छ । यसैबीच, संघले एक सूचना जारी गरेर सभामा निर्णयार्थ पेस गरिने विषयहरूसमेत सार्वजनिक गरेको छ । जसमा संघको प्रगति विवरण र संघले गरेका कार्य प्रस्तुत गरिने छ । त्यस्तै आय–व्यय सहितको वासलातमा छलफल गरी पारित गरिने र लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गरिने जनाइएको छ । यसका साथै आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन गर्नेसम्मको एजेन्डा तय भएको बताइएको छ ।
यस्तै साधारणसभामा भाग लिने प्रतिनिधि मनोनयन गरी संघमा बाँकी रहेको मासिक शुल्क (लेबी) भुक्तान गरी संघमा कम्पनीको लेटरहेडमा लिखित निवेदन, सेयर लगतको प्रतिलिपि, नागरिकता वा राहदानीको प्रतिलिपि र पासपोर्ट साइजको दुई प्रति फोटोसहित यहि १५ पुसभित्र प्रतितिधिबारे जानकारी गराउनका लागि पनि सबै व्यवसायीलाई संघले आग्रह गरेको छ ।
अध्यक्षमा भन्तनाको दाबी
वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले संघको आगामी कार्यकालका लाग अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । प्रभाव दैनिकसँग कुरा गर्दै अध्यक्ष भन्तनाले जस्तोसुकै अवस्थामा पनि आफू अध्यक्षमा चुनाव लड्ने बताएका हुन् ।
‘व्यवसायीक रूपमा गठबन्धन बन्न सक्ने भन्दै राष्ट्रिय राजनीतिको गठबन्धन नै व्यवसायीमा पनि बन्छ कि बन्दैन अहिले नै केही भन्न सक्ने अवस्था छैन,’ अध्यक्ष भन्तनाले भने, ‘राष्ट्रिय राजनीतिमा जुन गठबन्धन छ त्यो हुन सकेमा राम्रो हो, तर त्यस हुन नसकेको खण्डमा अन्य गठबन्धन बन्छ ।