
काठमाडौं– सरकारले विदेश जानेहरूलाई मध्येनजर गरी काठमाडौंका विभिन्न अस्पतालहरूमा जोन्सन एन्ड जोन्सन खोप दिन सुरु गरेको छ । सरकारले काठमाडौंको सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगन्ज, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने गरी खोप सुरु गरेको हो ।
यी अस्पतालहरूबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि लगाउन पाइने व्यवस्था रहेको छ । जोन्सनको खोप भने विदेश जानेहरूलाई प्राथमिकतामा राखेर दिन थालिएको बताइएको छ । जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरूले यही खोप खोज्ने गरेका छन् । गएको बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाडौंका अस्पतालहरूबाट वितरण थालिएको बताइएको छ ।
यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपांगता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरूलाई पनि यो खोप दिइएको थियो । तर खोप पर्याप्त नहुँदा विदेश जानेहरूले पाउन सकेका थिएनन् । जोन्सनको खोप पाउने काठमाडौंका अस्पतालहरूबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन पाइने जनाइएको छ ।