
काठमाडौं– भिजिट भिसाको प्रयोग गरी रोजगारीका लागि युएई पुगेका धादिङका १९ जना युवा अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनासहित युएई पुगेका १९ जना भिसाको म्याद सकिएपछि अलपत्र परेका हुन् ।
उनीहरू अहिले कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ का १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको बताइएको छ । भिजिट भिसामा गएर युएई पुगेपछि काम लगाइदिने प्रलोभनमा परेर उनीहरूले प्रतिव्यक्ति २ लाख ५० हजार रूपैयाँ खर्च गरेर गएको जनाइएको छ । भिजिट भिसामा रोजगारीका लागि विदेश नजानका लागि आग्रह गरिँदै आएको भए पनि पनि पछिल्लो समय यो भिसाको प्रयोग गरेर विदेश जानेको संख्या बढ्दै गएको देखिएको छ । जसले गर्दा अलपत्र पर्ने क्रम पनि बढेको बताइएको छ ।
उनीहरूलाई खाना नदिएर र सुत्नसमेत नमिल्ने कोठामा राखिएको जनाइएको छ । वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले यस्ता समस्या भोगिरहेकाले कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान सरोकारवालाले अनुरोध गर्दै आएका छन् । यस्तो काम गर्नेहरूलाई कार्बाही गर्नुपर्ने केही दिनअघि आयोजित एक कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए । भिजिट भिसामा जाँदा समस्यामा पर्ने र त्यसपछि दोष व्यवसायीलाई लगाउने परिपाटी बढ्दै गएको उनले बताएका छन् ।