
काठमाडौं– साउदी अरवमा १ साताको अवधिमा १५ हजारभन्दा बढी विदेशी श्रमिक पक्राउ परेका छन् । भिसा अवधि सकिएपछि लुकिछिपी बसेर काम गर्दै आएका उनीहरूलाई सीमासम्बन्धि कानुन उल्लंघन गरेका र श्रम सम्बन्धि कानुन उल्लंघन गरेका भन्दै पक्राउ गरिएको हो ।
साउदी अरबको सुरक्षा निकायको संयुक्त अभियानका क्रममा ती विदेशी श्रमिकहरू प्रक्राउ परेको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरू ९ डिसेम्बरदेखि १५ डिसेम्वरसम्मको अवधिमा प्रक्राउ परेको समाचारमा जनाइएको छ । यसरी पक्राउ परेकामध्ये ७ हजार ५ सय बढी भिसाको म्याद सकिएर लुकिछिपी बस्दै आएका व्यक्तिहरू रहेको बताइएको छ । त्यस्तै ५ हजार ७ सय बढी सीमा सुरक्षा सम्बन्धि कानुन उल्लंघन गर्नेहरू र १ हजार ८ सय ५० जना श्रम कानुन उल्लंघनको अभियोगमा पक्राउ परेको समाचार मा जनाइएको छ ।
यसैबीच, साउदी अरबले सन् २०२१ देखि हालसम्मको अवधिमा झन्डै १ लाख विदेशी नागरिकलाई पक्राउ गरेको पनि समाचारमा जनाइएको छ । उनीहरूलाई कानुनी कारबाही तथा स्वदेश फिर्तासमेत गराइएको बताइएको छ । स्थानीय सञ्चार माध्यामका अनुसार यसरी पक्राउ परेकामध्ये ८२ हजार ८ सय पुरुष र ८ हजार ७ सय महिला रहेका छन् । त्यसमध्ये ७९ हजारलाई स्वदेश फिर्तिका लागि सम्वन्धित मुलुकको दूतावासलाई जानकारी गराइएको र एकतर्फी यात्रा अनुमति पत्र बनाएर फर्काइएको पनि जनाइएको छ ।
त्यहाँका सुरक्षा अधिकारीहरूले यसरी पक्राउ पर्नेहरू तथा अवैधानिक रूपमा बसोबास गरिरहेकाहरूलाई रोजगारी उपलब्ध गराउने वा आवास सुविधा उपलव्ध गराउनेहरूलाई समेत १५ बर्षसम्मको जेल सजाय हुने चेतावनी दिएको समाचारमा जनाइएको छ । जेल सजायका साथै उनीहरूलाई १० लाख रियालसम्म जरिमानासमेत हुन सक्ने बताइएको छ ।