

काटमाडौं– देशको करिब आधा जनसंख्या बिप्रेषणमा आश्रित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सम्बन्धी जानकारी दिन बुधबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
दिवस आयोजक मूल समाराह समितिले जारी गरेको राष्ट्रिय आह्वान पत्रमा देशको ३० लाख ३९ हजार घरधुरीका १ करोड ४८ लाखभन्दा बढी व्यक्ति बिप्रेषणमा आश्रित रहेको तथ्यांक देखाइएको छ । यसरी देशको कुल घर धुरीको आधाभन्दा बढी त बिप्रेषणले चलेको देखिएको छ । जसबाट ५६ प्रतिशत घरधुरी लाभान्बित भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष ०६४/६५ देखि गत आर्थिक वर्ष ०७७/०७८ सम्ममा झन्डै ७० खर्ब बिप्रेषण भित्रिएको देखिएको छ । यसरी बिप्रेषण औसातमा प्रतिघरधुरीका ४.८८ परिवार संख्यामा पुगेको पनि देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै आर्थिक वर्ष ०५०÷५१ देखि गत आर्थिक वर्ष ०७७/०७८ सम्म वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५६ लाख ६४ हजार ९२ जना रहेको तथ्यांक जनाइएको छ । यो संख्यामा पुनः श्रम स्विकृति पनि समावेश रहेको छ । जसमध्ये २ लाख ५० हजार २ सय ९५ जना महिला रहेको समितिले जारी गरेको आह्वान पत्रमा उल्लेख गरिएको छ । सो कार्यक्रममा रोजगारीमा गएर स्वदेश फर्किएका नेपालीको भने तथ्यांक सार्वजनिक गरिएन ।
बिप्रेषणले देशको कुल गाह्र्रस्थ उत्पादनको करिब २५ प्रतिशत हिस्सा ओगटेकाले यसको महत्व दिन प्रतिदिन बढ्दै गएको पनि बताइएको छ । वैदेशिक रोजगारीमा नजाने हो भने आर्थिक रूपमा देश संकटमा पर्ने देखिएको सरोकारवालाहरूले बताउने गरेका छन् ।
विभिन्न कार्यक्रम गरी मनाइने
यसैबीच, अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रमिक र आप्रवासनका क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । दिवसका लागि १ देखि ७ पुससम्म विभिन्न कार्यक्रम हुने बताइएको छ ।
दिवस सबै स्थानीय तहका वडासम्म नै गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्यालले बताएका छन् । विदेशमा सिकेर आएको सीपलाई स्वदेशमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरकारले काम गरिरहेकको पनि उनले बताए । सचिव अर्यालका अनुसार श्रमिकका क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सरकार सधैँ तयार रहेको छ । यो वर्ष ‘मानव गतिशीलता को क्षमता को उपयोग’ अन्तराष्ट्रिय नारा तय गरिएको छ भने नेपालमा ‘सचेत, सीपमूलक र सुरक्षित रोजगारः मर्यादित श्रम आप्रवासनको मूल आधार’ नारा तय गरिएको छ ।