
दोहा– साउदी अरबले एक हप्ताको अवधिमै १५ हजार ६९ जना अवैध रूपमा कार्यरत आप्रवासी कामदारहरूलाई प्रकाउ गरेको छ । त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत)का अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ६९ जनालाई पक्राउ गरिएको हो । २ देखि ८ डिसेम्बरसम्मको अवधिमा सुरक्षा निकायका विभिन्न इकाइ र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ७ हजार ५ सय ६७, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ५ हजार ६ सय र श्रम कानून उल्लंघन गर्ने १ हजार ९ सय २ जना रहेका छन् । यी मध्ये ९ जनालाई गैरकानुनी कामदारलाई सहयोग र संरक्षण गर्नेहरू पनि रहेको जवाजतले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने जनाएको छ । हाल दण्डात्मक उपायहरूको अधीनमा रहेका उल्लंघन गर्नेहरूको कुल संख्या ८९ हजार ४७९ रहेको छ जसमध्ये ८१ हजार १५८ पुरुष र ८ हजार ३२१ महिला छन् । कुल ७८ हजार १५४ उल्लंघनकारीहरूलाई तिनीहरूको कूटनीतिक नियोगहरूमा निर्वासनका लागि यात्रा कागजातहरू प्राप्त गर्न पठाइएको थियो । २ हजार ३३८ लाई उनीहरूको यात्रा आरक्षण पूरा गर्न गरिसकेका छन् भने अहिलेसम्म ७ हजार ७०० उल्लंघनकारीहरूलाई देश निकाला गरिसकेको जनाएको छ ।
घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिबानाको सजाय हुने मन्त्रालयले जनाएको छ । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सैयौँ नेपालीहरू पनि पक्राउ परेका छन् । पक्राउ परेको नेपालीहरू हाल साउदीको जेलमा रहेको बताइएको छ ।