
काठमाडौं– नेपालीहरूको रोजगार गन्तव्य मुलुकमध्येको एक बहराइनमा सिधा उडान गर्ने बारेमा छलफल भएको छ । सिधा उडान गर्ने विषयमा बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बिएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाडौं–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको हो ।
यस विषयमा दुई देशका प्रतिनिधिबीच छलफल भएको र सो छलफल सकारात्मक रहेको बहराइनमा रहेको नेपाली दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बिएसी भवनमा आइतबार भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौं मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको दूतावासले जनाएको छ । सो भेटका क्रममा अलबिनफलाहले वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताएको दूताबासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बहराइन नेपालीहरूको श्रम गन्तव्य मुलुकमध्ये एक हो । अहिलेसम्म नेपालीहरूले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएर बहराइन गइरहेको अवस्था छ । यसरी सिधा उडान भएमा नेपाली श्रमिक लाभान्वित हुने बताइएको छ । त्यसैगरी, गल्फ एयरलाइन्सले पनि निकट भविष्यमा नै मनामा– काठमाडौं– मनामा उडान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।