
काठमाडौं– काठमाडौं उपत्यकाका ३ वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ । राहदानी विभागका अनुसार १ मंसिरदेखि सुरु गरिएको ई–पासपोर्ट सुरुवाती चरणमा उपत्यकाका तीन जिल्लाबाट र विस्तारै सबै जिल्लामा पुर्याइँदै छ ।
ई–पासपोर्ट वितरण सुरु भएपछि उपत्यकाबाट वितरण गरिने एमआरपी राहादानी मंगलबारदेखि बन्द गरिने विभागले जनाएको छ । विभागका अनुसार उपत्यका बाहिरका जिल्लाबाट पनि छिट्टै ई–पासपोर्ट वितरण सुरु गरिने छ । सुरुमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका जिल्लामा केही दिनपछि यो सेवा सुरु गरिने बताइएको छ । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु गरिने जनाइएको छ ।
अब ई–पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झन्झट अन्त्य हुने बताइएको छ । तर, ई–पासपोर्ट बनाउनका लागि राष्ट्रिय परिचयपत्र भने अनिवार्य रूपमा बनाउनु पर्नेसमेत विभागले जनाएको छ । ई–पासपोर्टका लागि अनलाइन प्रणालीबाट आवेदन दिनु पर्नेसमेत जनाइएको छ । अनलाइनमा आएको समस्या समाधान गरी गुनासोहरूलाई सम्बोधन गरी सहज सेवा प्रदान गर्नका लागि विभागले प्रयास गरिरहेको पनि बताइएको छ । जिल्ला प्रशासन कार्यालयहरूबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।