
काठमाडौं– मलेसियाले त्यहाँको रोजगारका सबै क्षेत्रमा विदेश श्रमिक लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको त्यहाँको मन्त्रिपरिषद्को बैठकले विदेशी श्रमिक लैजाने निर्णय गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि उसले १८ मार्च २०२० देखि विदेशी श्रमिकलाई प्रतिबन्ध लगाएको थियो । मलेसियाका विभिन्न उद्योगमा श्रमिकको अभाव भएको भन्दै श्रमिक लिने निर्णय गरिएको समाचारमा जनाइएको छ । योसँगै करिब दुई वर्षपछि विदेशी श्रमिकले रोजगारीका लागि मलेसिया जाने बाटोसमेत खुला भएको छ ।
यसअघि नै केही खुकुलो गरेर मलेसियाले पहिलो चरणमा प्लान्टेसन भनिने रबर र पाम उद्योगमा मात्रै नयाँ विदेशी श्रमिक लैजान पाउने नीति लिएको थियो । तर शुक्रबार भएको नयाँ निर्णयअनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेसन र घरेलु श्रमिकका लागि पनि मलेसिया जाने बाटो खुल्ला भएको बताइएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ श्रमिक भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्नेसमेत बताएको छ ।
नेपाली दूतावासले नयाँ श्रमिकको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको जनाएको छ । मलेसियाले शुक्रबार बंगलादेशसँग प्लान्टेसनसहित सबै क्षेत्रमा श्रमिक लिने सम्झौतासमेत गरेको समाचारमा जनाइएको छ । नेपाल र मलेसियाबीच १२ कात्तिक ०७५ मा सम्झौता भएको थियो ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीअनुसार नेपालबाट श्रमिक पठाउन लाग्ने सेवा शुल्क, दुई तर्फी हवाइ टिकट, भिसा तथा स्वास्थ्य परीक्षण शुल्क खर्च रोजगारदाताले व्यहोर्ने प्रावधान छ । सम्झौतामा श्रमिक पठाउने नेपाली म्यानपावर कम्पनीलाई मलेसियाका रोजगारदाताले सेवा शुल्कबापत कामदारले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम सेवा शुल्क दिनु पर्ने प्रावधान रहेको छ । यसका अतिरिक्त नेपालमा हुने स्वास्थ्य परीक्षण र सुरक्षा जाँचको खर्च रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।