
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव जिम्मेवारीमा एकनारायण अर्याल आएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचित अर्याललाई श्रम मन्त्रालयमा सरुवा गरेको हो ।
यसअघि श्रम मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले बताएका छन् । यी सँगै सरकारले १० सचिवहरूको सरुवा गरेको छ । ती मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको जनाइएको छ ।
त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि सुवेदीलाई पठाइएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । कोइरालाको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पठाइएको छ ।