
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवा–सुविधा नदिने कम्पनीमा नेपाली श्रमिक नपाइने बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवा–सुविधा नदिने कम्पनीहरूलाई कालोसूचीमा राखिने र त्यस्ता कम्पनीहरूमा श्रमिक नपठाइनेसमेत बताएका हुन् ।
छलफलमा सहभागीहरूले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गरेका थिए । उनीहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्किनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनीहरूले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिकसरह सुविधासमेत नपाएको गुनासो गरेका छन् ।
यस्तै गैरकानुनी बाटोबाट गएका घरेलु श्रमिकले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको सिकार बन्नु परेको गुनासोसमेत विदेशबाट फर्किएका श्रमिकहरूको थियो । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी श्रमिकको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको पनि बताएका छन् । मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनःएकीकरण गर्न कार्यविधि तयार गरिरहेको पनि मन्त्री श्रेष्ठले बताएका छन् ।