
काठमाडौ– रोजगारीका लागि युएई जान अब कुनै शुल्क नलाग्ने भएको छ । युएई सरकारले ल्याएको नयाँ श्रम कानुनअनुसार विदेशी श्रमिक आपूर्ति गर्दा कुनै खर्च नलाग्ने भएको हो । श्रम कानुनमा गरिएको सुधारबारे त्यहाँको मानव संशाधन मन्त्रालयले सम्बन्धित देशका कूटनीतिक नियोगलाई जानकारी गराइसकेको त्यहाँका स्थानिय सञ्चार माध्यमले जनाएका छन् । नयाँ श्रम कानुन २ फेब्रुअरी २०२२ देखि लागू हुने बताएको छ । नयाँ श्रम कानुनले श्रमिकको निःशुल्क मुद्दा लड्न पाउने व्यवस्थादेखि यौन दुव्र्यवहारमा परेका महिला कामदारहरूको संरक्षणजस्ता विषयलाई पनि समेटेको समाचारमा उल्लेख गरिएको छ ।
विगतमा मुद्दाको प्रकृतिअनुसार खर्च तिनुपर्ने कानुनलाई परिमार्जन गर्दै आगामी फेब्रुअरीदेखि भने विदेशी कामदारले निःशुल्क मुद्दा लड्न पाउने व्यवस्था गरिएको जनाइएको छ । यस्तै, नयाँ कानुनमा कुनै पनि श्रमिकलाई रोजगारदाताले जबर्जस्ती काममा लगाउन नपाई उल्लेख गरिएको छ । साथै कुनै पनि सहकर्मी वा श्रमिकलाई यौन दुव्र्यवहार गर्ने, जिस्क्याउने, शारीरिक तथा मानसिक हिंसा गर्ने, व्यक्तिगत लान्छना लगाउने तथा विदेशी कामदार भनेर विभेद् गर्न नपाइने विषय नयाँ कानुनमा समेटिएका छन् । साथै, कुनै पनि जात, वर्ण, रंग, लिंग, धर्म, राष्ट्रियता आदिका आधारमा भेद्भाव गर्नसमेत नपाइने जनाइएको छ ।
रोजगारदाता कम्पनीसँगै सम्बन्धित व्यक्तिले यी नियम उल्लंघन गरे तत्काल जरिमानासहित जेल सजायसमेत हुने नयाँ कानुनमा व्यवस्था छ । युएईले नयाँ श्रम कानुनले करिब १ लाख नेपाली श्रमिकलगायत करिब ३० लाखभन्दा बढी विदेशी श्रमिक लाभान्वित हुने विश्वास लगिएको छ । यो नयाँ कानुन लागू भएपछि नेपाली श्रमिकको खर्च पनि बचत हुने सरोकारवालाले विश्वास लिएका छन् ।