
काठमाडौं– चालू आर्थिक वर्षको पहिलो चार महिनामा डेढ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । चालू आर्थिक वर्ष ०७८÷७९ को पहिलो चौमासिकमा १ लाख ५६ हजार ५७ जना नेपालीले रोजगारीका लागि विदेशजना श्रम स्वीकृति लिएका हुन् । यो संख्या गत आर्थिक वर्ष ०७७/७८ को सोही अवधिको तुलनामा १ लाख ३५ हजार ४ सय ८६ ले बढी हो ।
गत आर्थिक वर्षको सुरुका चार महिनामा नेपालबाट जम्मा २० हजार ५ सय ७१ जना रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको यो समयमा कोरोनाका कारण श्रम गन्तव्य मुलुकले श्रमिक नलिएका कारण संख्या निकै कम भएको बताइएको छ । चालू आर्थिक वर्षको सुरुका चार महिनामा सबैभन्दा धेरै कात्तिक महिनामा ५४ हजार ९ सय १८ जनाले रोजगारीका लागि विदेश जाने श्रम स्वीकृति लिएको देखिएको छ । जसमा नयाँ ३० हजार १८ र पुराना २४ हजार ९ सय जना रहेको विभागले जारी गरेको मासिक प्रगति विवरणमा उल्लेख गरिएको छ । यो संख्या गत आर्थिक वर्षमा ७ हजार ७ सय ९७ जना मात्रै रहेको थियो ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको पहिलो महिनामा यो संख्या जम्मा ३ हजार १ सय ५२ जना रहेको थियो । कोरोनाका कारण सो समयमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या निकै कम रहेको बताइएको छ । चालू आर्थिक वर्षको भदौ महिनामा नेपालबाट रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ४० जनारहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट जम्मा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक रहेको छ ।
त्यस्तै असोज महिनामा ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिएको छन् । यो संख्या पनि अघिल्लो वर्षको यहि समयको तुलनामा निकै बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट जम्मा ८ हजार ९७ जनाले रोजगारीका लागि विदेश जनाका लागि श्रम स्वीकृति लिएका थिए । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९६ हजार ३ सय ३४ जना रहेको छ । यो संख्या गत आर्थिक वर्षको पहिलो चौमासिकमा ३ हजार ४ सय ६३ जना रहेको विभागले जारी गरेको तथ्यांकमा देखिएको छ । चालू आर्थिक वर्षको चार महिनामा पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५९ हजार ७ सय २३ जना रहेको छ भने यो संख्या गत वर्षको सोही अवधिमा १७ हजार १ सय ८ जना रहेको थियो ।
प्रमुख गन्तव्य कतार, साउदी र युएई
पहिलो चौमासिकमा रोजगारीका लागि विदेश जाने नेपालीहरूको प्रमुख गन्तव्य रूपमा कतार, साउदी र युएई अगाडि देखिएको छ । पहिलो चौमासिकमा यी तीन देश जाने नेपालीको संख्या १ लाख ४२ हजार ६ सय ९७ जना रहेको छ । जुन जम्मा विदेश गएकोमध्ये ९१.४३ प्रतिशत हो । आर्थिक वर्षको सुरुका चार महिनामा सबैभन्दा बढी ५९ हजार २ सय ४४ जना कतार गएको तथ्यांकले देखाएको छ । त्यस्तै पहिलो चौमासिकमा रोजगारीका लागि साउदी अरब जाने नेपालीको संख्या ५४ हजार ९ सय ८५ जना रहेको छ । यो अवधिमा नेपालबाट युएई जानका लागि २८ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । पछिल्लो समय कोरोनाका कारण रोजगारको प्रमुख गन्तव्य मुलुक मलेसिया बन्द रहेको अवस्थामा मलेसिया जाने नपालीको संख्या न्यून देखिएको छ ।