
काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री डा.नारायण खड्काले ई–पासपोर्टको सुरुवात गरेको गरेका हुन् ।
सो अवरमा सर्वसाधारणतर्फ पहिलो विद्युतीय राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । कार्यक्रममा परराष्ट्र मन्त्री डा.खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरेका थिए । जोशीले पहिलो ई–पासपोर्ट पाउँदा निकै खुसी लागेको बताएका छन् ।
यो पासपोर्टले नेपालको पहिचान बोक्ने भएकाले निकै महत्वपूर्ण रहेको भन्दै जोशीले सफलताको शुभकामना पनि व्यक्त गरे । यसैबीच, राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले ई–पासपोर्ट अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने भन्दै सेवाग्राहीलाई लाइन बस्नु पर्ने झन्झटको अन्त्य हुने बताएका छन् । हस्तलिखित हुँदै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आइएकामा अब एमआरपी विस्तारै विस्थापित गरिने उनले बताए ।
हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट रहने महानिर्देशक अर्यालले बताएका छन् । विश्वका १ सय २० भन्दा बढी देशले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्ट वाहकको सबै जानकारी उपलब्ध हुने बताइएको छ । ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट भएको बताइएको छ ।
म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन, त्यसैले म्याद भएकाहरूले अहिले नै पासपोर्ट बनाउन नपर्ने विभागले जनाएको छ । एमआरपी राहदानीको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुने बताइएको छ ।